नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन हुनु भएको छ । बुटवलमा बसेको संसदीय दलको बैठकले हाल मुख्यमन्त्री समेत रहनु भएका आचार्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

आचार्य यसअघि दलको उपनेता हुनु हुन्थ्यो । संसदीय दलको नेतालाई छाडेर पार्टीको केन्द्रीय नेतृत्वले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि तत्कालिन दलको नेता रहनुभएका पूर्वमुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिनुुभएको थियो । आचार्य मुख्यमन्त्री नियुक्त भएकै दिन गिरीले साउन ७ गते राजीनामा बुझाउनु भएको थियो ।

बुटवलमा बसेको २६ जना प्रदेशसभा सदस्यको सर्वसम्मत निर्णयबाट आचार्यलाई दलको नेता चयन गरेको नेकपा एमाले लुम्बिनीले जनाएको छ । दलको उपनेता भोजप्रसाद श्रेष्ठ चयन हुनु भएको छ भने प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका चयन हुनु भएको छ । यसअघि प्रमुख सचेतकमा रहेका चौधरीले पनि राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा अस्वीकृत भएको छ ।

यस्तै, सचेतक रहनु भएका दाङकी सीता शर्मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भएपछि सचेतकमा रोकालाई चयन गरिएको छ । बैठकले मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय