एसीसी एसिया कप २०२७ मा एसियाका ५ वटै पूर्ण राष्ट्र अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका साथै एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले खेल्दैछ । आईसीसीका ५ पूर्ण सदस्य राष्ट्रसहित १९ वटा एसोसिएट राष्ट्र एसियाका छन् । यसमा पनि जब जब एसियाली क्रिकेटको सर्वोच्च प्रतियोगिता एसिया कप हुन्छ, त्यहाँ दक्षिण एसियाली टोलीकै दबदबा रहँदै आएको छ ।
विश्व क्रिकेटमा दक्षिण एसियाको स्थितिः
आईसीसीका हाल विश्वभर १२ वटा पूर्ण सदस्य राष्ट्र छन् । जसमध्ये ५ राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान दक्षिण एसियाली क्षेत्रकै छन् । पूर्ण सदस्यको लगभग आधा हिस्सा दक्षिण एसियाले ओगटेको छ । आर्थिक बजार, दर्शक संख्या, खेलप्रतिको क्रेज र मैदानमा देखिएको प्रदर्शनका आधारमा पनि दक्षिण एसियाली टोलीको अवस्था बलियो छ । भारतः विश्व क्रिकेटको आर्थिक मेरुदण्ड र सबैभन्दा शक्तिशाली बोर्ड बीसीसीआई भएको भारत मैदानमा पनि शीर्ष स्थानमा रहँदै आएको छ । पाकिस्तान र श्रीलंकाः दुवै पूर्व विश्वविजेता राष्ट्र हुन् जसले विश्व क्रिकेटलाई उत्कृष्ट खेल र कीर्तिमान दिएका छन् । बंगलादेशः कुनै पनि ठूला टोलीलाई हराउन सक्ने क्षमता भएको प्रतिस्पर्धी टोली बंगलादेश औसत स्तरमा भए पनि विश्व क्रिकेटमा बलियो सहभागीता जनाउँदै आएको छ । अफगानिस्तानः कम समयमै टेस्ट मान्यता पाएर विश्व क्रिकेटमा सनसनी मच्चाउने टोली अफगानिस्तान जसले ठूला टोलीलाई समेत कडा चुनौती दिने गरेको छ । नेपालः एसोसिएटबाट उदीयमान शक्तिको रूपमा अघि बढिरहेको नेपालले ३ पटक टि २० विश्वकप खेलेर र एसीसी प्रिमियर कप जितेर २०२७ को एसिया कपमा स्थान पक्का गर्नुले दक्षिण एसियाली क्रिकेटको गहिराइ थप प्रष्ट्याउँछ ।



एसिया कपमा नेपालको अवस्थाः
नेपाल जस्तो एसोसिएट राष्ट्रका लागि प्रिमियर कप एसिया कप पुग्ने निर्णायक बाटो हो । २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करण जित्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । नेपालले पहिलो पटक विश्व च्याम्पियन टोलीहरु भारत र पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्यो । पाकिस्तानसँग उसैको घरेलु मैदानमा र भारतसँग श्रीलंकाको क्यान्डीमा खेलेको खेलमा नेपालले फराकिलो हार व्यहोर्यो । तर खेल दौरान ति महारथीविरुद्ध देखाएको प्रतिस्पर्धाको भावनाले विश्व क्रिकेटको ध्यान तान्न सफल भयो । यस पटक समूह विभाजन हुन बाँकी छ । तर अब दोस्रो पटक प्रिमियर कप जितेर नेपालले फेरि ति ५ पूर्ण सदस्य राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्ने अबसर पाएको छ ।
एसिया कपमा दक्षिण एसियाली बाहेकका राष्ट्रको सहभागिताः
सन् १९८४ बाट सुरु भएको एसिया कपमा अधिकांश समय एसियाली पूर्ण सदस्यको मात्र सहभागिता रहँदै आएको छ । दक्षिण एसिया बाहेक अन्य ३ टोलीले मात्र विभिन्न समयमा एसिया कप खेलेका छन् । यसमा सबैभन्दौ बढी सहभागी हुने टोली हो, हङकङ । हङकङले ५ पटक, युएईले ४ पटक र ओमानले १ पटक एसिया कप खेलिसकेको छ । टि २० फरम्याटमा गत संस्करण भएको एसिया कपमा यि ३ वटै टोलीको सहभागिता थियो । २०२३ मा पहिलो पटक खेलेको नेपालको यो दोस्रो सहभागिता हुनेछ । तर उपाधि जित्ने मामिलामा भने दक्षिण एसियाली टोलीले शतप्रतिशत सफलता पाइरहँदा भारतले सर्वाधिक ९ पटक उपाधि जितेको छ । त्यस्तै श्रीलंकाले ६ र पाकिस्तानले २ पटक उपाधि जितिसकेको छ ।
यसरी एसिया कप २०२७ मा ६ वटै टोली दक्षिण एसियाबाट हुनु र आईसीसीका संरचनामा यस क्षेत्रको वर्चस्व हुनुले दक्षिण एसिया वर्तमान विश्व क्रिकेटको एक प्रमुख शक्ति केन्द्र बनिसकेको पुष्टि हुन्छ । आर्थिक होस् वा खेलका रूपमा, विश्व क्रिकेटको दिशा तय गर्नमा दक्षिण एसियाली राष्ट्रको भूमिका निर्णायक बन्दै गएको छ ।



