नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि शुरु हुने एसिसि यु–१९ एशिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्य लिएको बताए । एशिया कपमा नेपाल बलिया राष्ट्र भारत, पाकिस्तानसहित अफगानिस्तान रहेको समूह ‘ए’ मा छ । कप्तान खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहो¥याउन आतुर रहेको बताए ।
कार्यक्रममा नेपाली यू–१९ टोलीका प्रशिक्षक जगत टमटाले बिना दबाबमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको पनि बताए ।



विदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए । मन्त्री लिम्बुले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार केही दिनमै उपलव्ध गराउने प्रतिवद्धता पनि जनाए । पुष एक गतेसम्म युएईमा हुने एशिया कपको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएइ रहेका छन् ।



