एसियाका एसोसिएट टोलीले मात्र खेल्ने सबैभन्दा ठुलो प्रतियोगिता एसीसी प्रिमियर कप खेल्न नेपाली क्रिकेट टोली आज ओमान प्रस्थान गर्दै छ । भारतका दुई प्रान्तीय टोलीसँग टी–२० शृंखला खेल्न पुगेको नेपाली टोली उतैबाट ओमान जान लागेको हो ।
आसन्न प्रतियोगितामा एसियाका १० एसोसिएट टोलिले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वरियताक्रममा शीर्ष ८ एसियाली एसोसिएट टोली नेपाल, यूएई, हङकङ, ओमान, मलेसिया, कुवेत, बहराइन र कतार तथा एसीसी मेन्स च्यालेन्ज कपका शीर्ष दुई टोली साउदी अरब र कम्बोडियाले प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताको पहिलो चरणमा ५÷५ टोलीका दुईवटा समूह छन् । नेपाल रहेको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । अर्को समूहमा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई रहेका छन् ।



राउन्ड रोबिनपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्तिम चारमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता सन् २०२५ मा हुने एसिया कपमा पुग्ने छ ।एक वर्षअघि घरेलु मैदानमै आयोजना भएको एसीसी प्रिमियर कप जितेर नेपालले पहिलोपटक एसिया कप खेलेको थियो ।



