काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र पार्दै निर्वाचन आयोगले मतपत्र छपाइ, प्याकिङ तथा ढुवानी कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । आयोगले विशेषगरी दुर्गम भूगोल रहेको कर्णाली प्रदेशका जिल्लाहरूमा समयमै मतपत्र पुर्याउन विशेष योजना बनाएर ढुवानी प्रक्रिया सुरु गरेको जनाएको छ ।

आयोगले कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउने काम अघि बढाइएको हो । हिमाली तथा पहाडी जिल्लामा मौसम र यातायात चुनौतीपूर्ण हुने भएकाले प्राथमिकताका आधारमा मतपत्र ढुवानी थालिएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । उहाँका अनुसार कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको छ । निर्वाचन सामग्री व्यवस्थापनअन्तर्गत १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिसकिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ भइरहेको छ । साथै, दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा कडा सुरक्षाबीच सञ्चालन भइरहेको छ । त्यहाँ छपाइ, रुजु (जाँच) र प्याकिङ कार्य एकसाथ अघि बढाइएको आयोगले जनाएको छ ।

यसअघि आयोगले १० लाख ९८ हजार २ सय नमूना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकेको छ । यसबाट निर्वाचन अधिकृतहरूलाई तयारी तथा प्रशिक्षणमा सहजता पुगेको बताइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई प्याकिङ तथा रुजु प्रक्रिया सकेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्ने योजना रहेकोमा माघ १६ गते बिहानदेखि छपाइ प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको आयोगले जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइ, प्याकिङ र ढुवानी कार्यलाई तीव्र पारिएको छ । निर्धारित समयभित्र सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुर्याएर निष्पक्ष, व्यवस्थित र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित आयोगले तयारीलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय