काठमाडौं । विश्व बसोवास दिवस । ‘कर्मशील युवा समुन्नत शहर’ नाराका साथ विश्व बसोवास दिवस मनाइँदै छ ।
विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र यूएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्दैछ ।



दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । दिगो सहरीकरण र समृद्ध अर्थतन्त्रलाई मूलमन्त्र मानेर मन्त्रालय तथा विभागले सघन शहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, शहरी करिडोर आयोजना, नयाँ शहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
दिवसका अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गरेको दिवस मूल समारोह समितिले जनाएको छ । यो वर्षको नारामा आधारित रही शहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल कार्यक्रम आयोजना हुने छ ।
सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।



