नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको नेपाली मजदुरको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालहरुले उनीहरूलाई कश्मीर पुर्‍याएका थिए ।तर, कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो । दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ ।

उद्धार गरिएका धनुषाका ३८ वर्षीय रञ्जित चौधरी आफूहरूसँग अमानवीय व्यवहार गरिएको बताए । ‘दैनिक ११ सय नेपाली रुपैयाँ पाउने भनेपछि यता आइयो, जम्मूमा नाला निर्माणको काममा मजदुरी गर्ने भनिएकोमा त्यहाँ नलगेर कश्मीरको श्रीनगर पुर्‍याइयो,’ उनले सुनाए ‘ठेकेदारले हामीसँग भएका सबै सामान खोसेर तीन महिनादेखि बन्धक बनाएर काम गराउँदै आएको थियो । पैसा त दिएन, दिएन सधैं कुटपिट र धम्की दिँने गरेको उनले बताए।

सर्लाहीका अर्जुन सदाले कहिल्यै पनि राम्रो खाना नदिएको गुनासो गरे । उनीहरूलाई परिवारसँगको सम्पर्कबाट समेतटाढा राखिएको थियो । तीन महिनादेखि अत्यन्तै कष्टकर जीवन बिताउनु परेको उनीहरूको भनाइ छ ।

केही दिन अगाडि मुश्किलले भाग्न सफल भएका दुई जना गाउँ पुगेपछि धेरै मजदुरहरू बन्धक बनाइएको कुरा सर्लाहीका सामाजिक कार्यकर्ता सरोज रायले थाह पाएका थिए । उद्धार कार्यमा जुटेका रायले त्यसपछि आफूले परराष्ट्र मन्त्रालय, दूतावास र किन इन्डियालाई यस विषयमा सूचना दिएको बताए । उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका मजदुर रहेका छन् । त्यसमा ६ जना नाबालसमेत रहेका छन् ।

उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताए । सुरुमै ७ हजारको दरले पेश्की नै दिएर विश्वासको वातावरण बनाएको देखिन आएको उनले जानकारी दिए । तर, पछि कश्मीर पुर्‍याएर बन्धक बनाएर काम गराईएको पाइएको उनले बताए ।

दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले उद्धार कार्यका लागि कश्मीर प्रहरीको सहयोग पाइएको र दोषीहरूलाई पक्राउ गरेर उनीहरूमाथि कानुनी कारबाहीका लागि समन्वय भइरहेको बताए । पीडितहरू रहेको स्थान पहिचान गर्न र उनीहरूलाई बाहिर निकाल्न स्थानीय प्रहरीको राम्रो सहयोग रह्यो,’ उनले भने किन इन्डिया र सामाजिक व्यक्ति सरोज रायको सक्रियताले उद्धार कार्यमा सफलता हात लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय