काठमाडौं । काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ ।

हाइअल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेशनल जियोग्राफ्रीबाट ‘एडभेञ्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता समेत हुन् ।

चन्द्रागिरि नगरपालिकाको पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट उडान गरी थाहा नगरपालिकाको चित्लाङसम्म प्याराग्लाइडिङ संचालन गरिएको छ । चन्द्रागिरि २३ सय मिटरबाट सुरू भएको उडान त्यहाँबाट आकासमा १ सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यू’ का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भू–भाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिने छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले जो कोहिलाई मोहित बनाउँछ ।

उडान अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमति अनुसार, कम्पनीले एकै पटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब १ सय जनासम्मलाई सेवा दिन सकिने सुनुवार बताउनु हुन्छ । स्याङ्जाको स्वरेक, पोखरालगायतका स्थानबाट प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’ कम्पनीले ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको छ । चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने क्रममा रहेको छ । अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएका छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय