काभ्रेमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबले आयोजना गरेको चौथो संस्करणको महोत्सव कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । उगे्रश्वर मन्दिर परिसरमा सञ्चालित महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले उद्घाटन गरेका हुन् । मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्ने बताए ।
मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने झाँकी तथा बाजागासहित नाच प्रदर्शन गरिएको थियो । मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय प्रदर्शन कक्ष राखिएको छ । प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्सवमा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने छ ।






