पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको भन्दै समस्या सामधान गरिदिन सरोकारवालाले माग गरेका छन् । अलैंचीको उत्पादनदेखि बजारको समस्याले पछिल्लो समय अलैंचीको मूल्यमा गिरावट आउनुका साथै अनेकौँ समस्या देखिएको भन्दै सरोकारवालाहरुले समस्या सामधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

स्वीस सरकारको सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको बर्तमान अवस्था र बजारीकरणका सम्भावनाहरुका बिषयमा झापामा आयोजना गरेको एकदिने बृहत कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अलैंची उत्पादनदेखि बजारको समस्याले पछिल्लो समय अलैंचीको मूल्यमा उत्तार चढाब आएको गुनासो गरेका छन् । कार्यक्रममा अलैंची व्यवसायी महासंघले अलैंची खेती, बजारको पहुँच सुनिश्चित लगायतका समस्या समाधान गरिदिन सम्वन्धित निकायहरुलाई आग्रह गरेको छ । अलैंची व्यवसायमा समस्याका चाङ रहेको भन्दै व्यवसाय प्रवद्र्धनका लागि तीनै तहका सरकारले पहल गर्नुपर्ने महासंघको भनाइ छ ।

महासंघले पछिल्लो समय भारत तथा भुटानमा तीव्र रूपमा अलैंची खेती विस्तार भएको तथा विश्व बजारमा नेपाली अलैंचीको पहुँच पुग्न नसक्दा पनि चुनौती थपिएको जनाएको छ । कार्यक्रममा कोशी प्रदेशमा मकै, आलु, अलैंची लगायतका कृषि बस्तुको खेती तथा व्यवसाय प्रवद्र्धन सम्बन्धी काम गर्दै आएको संस्था सहजले कृषि जन्य बस्तुको उत्पादन र बजारीकरणमा सहयोग गर्न काम गरिरहेको जनाएको छ ।

अलैंचीमा लामो समयदेखि लागेको रोग नियन्त्रण हुन नसक्नु, समयमा किसानलाई प्राविधिक सेवा उपलब्ध नगराईनु, सिँचाइको पर्याप्त व्यवस्था हुन नसक्नु लगायतका कारण पछिल्लो समय उत्पादन घट्दै गएको किसानहरुको गुनासो छ । ‘कालो सुन’ को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्नेमा कोशी प्रदेशसभा सदस्यहरुको जोड दिए ।

अलैंची खेती र व्यवसायका लागि सरकारको स्पष्ट नीति नहुँदा सम्भावना भएर पनि अलैंची खेती विस्तार हुन नसकेको महासंघ बुझाई छ । हाल देशका ५२ वटा जिल्लाका १७ हजार हेक्टर जमिनमा हुँदै आएको अलैंची खेतीबाट वार्षिक ८ हजार मेट्रिक टनभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ । उत्पादन भएका अलैंचीमध्ये ५ प्रतिशत नेपालमा र बाँकी भारत तथा तेस्रो मुलुकमा निर्यात भई वार्षिक १० अर्ब रुपैयाँसम्म विदेशी मुद्रा आर्जन हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय