कास्की जिल्ला कारागारमा चौकीदार नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीहरूले नारावाजी गरेका छन्। कारागारको क ब्लकमा रहेका कैदीबन्दीहरूले आइतबार बिहान चौकीदार सिफारिसप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार, यस वर्ष क ब्लकका लागि चौकीदार पदमा तीन जना – अजय, प्रकाश र प्रसान्त थापालाई सिफारिस गरिएको थियो। तर कारागार विभागले अजग गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दीहरूले आपत्ति जनाएका हुन्।



प्रदर्शनकारी कैदीहरूका अनुसार, राजनीतिक पहुँच प्रयोग गरेर अजग गुरुङलाई नियुक्त गरिएको आरोप लगाइएको छ। उनीहरूले यसअघि पनि चौकीदारको भूमिका निर्वाह गरिसकेका प्रकाश गुरुङलाई पुनः नियुक्त गर्नुपर्ने माग राखिरहेका छन्।प्राप्त जानकारीअनुसार, अजय र प्रकाश दुबैले कर्तव्य ज्यानको मुद्दामा सात वर्षदेखि जेल जीवन बिताइरहेका छन्। प्रकाश दुई वर्षअघि पनि चौकीदारको जिम्मेवारीमा थिए।
हाल क ब्लकमा करिब ४०० कैदीबन्दी रहेका छन् भने शनिबार मात्र ७८ जना कैदीहरू लमजुङबाट कास्की स्थानान्तरण भएका थिए। यसैबीच, मधेश प्रदेशको सिरहा कारागारमा पनि नाईके नियुक्तिको विषयमा झडप हुँदा १३ जना घाइते भएको समाचार छ। कारागार प्रशासनले दुवै घटनालाई गम्भीर रूपमा लिई आवश्यक छानबिनको प्रक्रिया अघि बढाएको जनाएको छ।



