काठमाडौं – ‘आफू परिवर्तन भए मात्र अरूमा पनि परिवर्तन ल्याउन सकिन्छ–स्वच्छ वातावरण, स्वच्छ जीवन’ भन्ने नारासहित काठमाडौंको कीर्तिपुरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। हरेक शनिबार सञ्चालन हुँदै आएको ‘कीर्तिपुर क्लिन–अप अभियान’अन्तर्गत शनिबार बाघभैरव, उमामहेश्वर मन्दिरलगायत कीर्तिपुरका विभिन्न स्थानमा सरसफाइ गरिएको हो। सार्वजनिक स्थल, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरी वातावरण स्वच्छ राख्न नागरिकलाई सचेत गराइएको थियो।

अभियानका क्रममा स्थानीय क्षेत्रमा थुप्रिएका फोहोर व्यवस्थापन गर्नुका साथै सार्वजनिक स्थानमा फोहोर नगर्न र आफ्नो वरपरको वातावरण सफा राख्न नागरिकलाई आग्रह गरिएको थियो। आयोजकहरूले सरसफाइलाई एक दिनको कार्यक्रमका रूपमा मात्र नभई नियमित सामाजिक अभियानका रूपमा अघि बढाउने बताएका छन्।

कीर्तिपुर क्लिन–अप अभियानका संयोजकहरू नीरोज जङ्ग बिष्ट, महेश थापा, सुनील भट्ट, लोकेन्द्र साउद, अर्जुन आचार्य तथा कपिल जोशीलगायतले अभियानलाई निरन्तरता दिँदै आएका छन्। उनीहरूले स्वच्छ र व्यवस्थित कीर्तिपुर निर्माणका लागि स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

अभियानमा समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नागरिकको सहभागिताले सरसफाइसँगै वातावरण संरक्षण र सामाजिक जिम्मेवारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

अभियान सफल बनाउन आर्थिक तथा सरसफाइका लागि आवश्यक सामग्री सहयोग गर्ने कपडा अड्डा कीर्तिपुर, चिया दोबाटो क्याफे एन्ड किचन, समाजसेवी अर्जुन आचार्य, सुदूरपश्चिम मोबाइल सेन्टर, प्रहरी वृत्त कीर्तिपुर, कीर्तिपुर नगरपालिका वडा नं. ९, नमस्कार इन्स्टिच्युट तथा FUJI International Consultancy लगायत सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्। अभियानका संयोजकहरूले आगामी दिनमा पनि हरेक शनिबार सरसफाइ अभियानलाई निरन्तरता दिने जनाउँदै कीर्तिपुरवासीसहित सम्पूर्ण नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

आयोजकले ‘स्वच्छ कीर्तिपुर, सुन्दर कीर्तिपुर–हाम्रो कीर्तिपुर, हाम्रो जिम्मेवारी’ भन्ने भावनालाई आत्मसात् गर्दै सार्वजनिक स्थलको सरसफाइसँगै नागरिकमा वातावरणीय चेतना अभिवृद्धि गर्ने अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय