भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा मंगलबार राति मच्चिएको भागदौडका कारण कम्तिमा १५ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। भारतीय मिडियाका अनुसार, भिडमा कुल्चिन गएर धेरै व्यक्तिहरुको ज्यान गएको र घटनामा अन्य घाइतेको अवस्थासमेत गम्भीर रहेको बताइएको छ।

प्रयागराज सिटीका एक डाक्टरले समाचार एजेन्सी एएफपीलाई जानकारी दिँदै १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। दैनिक भाष्करका अनुसार, १४ शव पोस्टमार्टमका लागि स्वरुपरानी अस्पताल ल्याइसकिएको उल्लेख गरिएको छ। घटना पश्चात तत्काल स्नान स्थगित गरिएको छ र प्रशासनले थप भिडको जोखिमबाट बच्न ब्यारिकेड हटाएर सडक खुला गरेको छ।

अहिले कुम्भ मेलामा १५ करोड भन्दा बढी श्रद्धालु सहभागी भएको अनुमान गरिएको छ र खासगरी मौनी अमावस्या (माघ कृष्ण औंसी)का अवसरमा १० करोड भन्दा बढी श्रद्धालु गंगामा स्नान गर्न आउने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले आम श्रद्धालुहरूलाई संगम स्थानतर्फ नजान र गंगा किनारमा नै स्नान गर्न आग्रह गरेका छन्। साथै, उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहबाट बच्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय