काठमाडौं – मुलुकको एक मात्र ब्याकअप ऊर्जा स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। जलाशयमा पानीको सतह बढ्दै गए पनि आयोजनाले विद्युत् उत्पादन र पानीको सञ्चितिलाई सन्तुलनमा राख्दै उच्च सतर्कता अपनाएको जनाएको छ। कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतका अनुसार शुक्रबार बिहान ६ बजे जलाशयमा पानीको सतह १ हजार ५२२ दशमलव ३१ मिटर मापन गरिएको थियो। त्यसको साढे तीन घण्टापछि बिहान ९ः३० बजे पानीको सतह बढेर १ हजार ५२२ दशमलव ६० मिटर पुगेको थियो।

कुलेखानी जलाशयको पूर्ण सञ्चित क्षमता १ हजार ५३० मिटर रहेको छ। यसअनुसार जलाशय पूर्ण क्षमतामा भरिन अब करिब ७ मिटर पानीको सतह बढ्न बाँकी रहेको आयोजनाले जनाएको छ।प्रमुख राउतका अनुसार पछिल्लो समय जलाशयको जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले प्राकृतिक रूपमा जलाशयमा पानी थपिँदै गएको छ। जलाधार क्षेत्रमा हुने वर्षाका कारण दैनिक करिब १५ देखि २० सेन्टिमिटरसम्म पानी जलाशयमा थपिने गरेको उनले बताए।

तर, तीनवटै युनिटबाट २४ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले दैनिक करिब २५ देखि ३० सेन्टिमिटरसम्म पानी खपत भइरहेको छ। त्यसकारण हाल जलाशयमा पानी आउने र विद्युत् उत्पादनका क्रममा खपत हुने पानीबीच तुलनात्मक रूपमा सन्तुलन कायम रहेको राउतले बताए।कुलेखानी जलाशयमा सातवटा जलाधार क्षेत्रबाट पानी संकलन हुने गरेको छ। पछिल्लो समय ती जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण जलाशयमा पानीको आगमन बढेको हो।

भोटेकोशीको बाढीपछि पूर्ण क्षमतामा उत्पादन
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट त्यहाँका जलविद्युत् आयोजनामा क्षति पुगेपछि कुलेखानी जलविद्युत् आयोजना भदौको दोस्रो सातादेखि पूर्ण क्षमतामा सञ्चालन हुँदै आएको छ।भोटेकोशी बाढीबाट विद्युत् आयोजनामा क्षति पुगेपछि राष्ट्रिय प्रणालीमा सिर्जना भएको ऊर्जा अभाव तथा माग व्यवस्थापनका लागि कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन गर्नुपरेको प्रमुख राउतले बताए। कुलेखानी आयोजना नेपालको विद्युत् प्रणालीमा आवश्यक पर्दा तत्काल उत्पादन बढाउन सकिने महत्वपूर्ण जलविद्युत् आयोजना हो। त्यसैले जलाशयमा पानीको उपलब्धता र विद्युत् उत्पादनबीच सन्तुलन कायम राख्नु आयोजनाका लागि महत्वपूर्ण बनेको छ।

विगतको क्षतिलाई ध्यानमा राखेर सतर्कता
असोज ८ गतेदेखि भइरहेको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्न थालेपछि आयोजनाले थप सतर्कता अपनाएको छ। यसअघि २०८१ साल असोज १२ गते बिहान कुलेखानी जलाशय भरिएपछि बाँधको ढोका खोलिएको थियो। त्यसक्रममा सिमखोलाको पुल, सिस्नेरी सडक तथा ४९ वटा घरमा क्षति पुगेको थियो। उक्त घटनालाई ध्यानमा राख्दै यसपटक जलाशयमा पानीको सञ्चिति र निकासलाई सावधानीपूर्वक व्यवस्थापन गर्न प्रयास भइरहेको आयोजनाका प्रमुख राउतले बताए। जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण जलाशयमा थपिने पानीको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यक व्यवस्थापन भइरहेको उनको भनाइ छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर आयोजनाले पानीको सतह, वर्षा र निकासको अवस्थालाई प्राथमिकताका साथ हेरेको छ।

तीन तहको साइरन प्रणाली
कुलेखानी जलाशयको पानीको सतह बढेर स्पिलवे गेट अर्थात् मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन तीन तहको साइरन प्रणाली सञ्चालनमा राखिएको छ।आयोजनाका अनुसार पहिलो चरणमा एक मिनेट लगातार लामो साइरन बजाइनेछ। यो जलाशयमा पानी भरिन लागेको प्रारम्भिक संकेत हुनेछ। यस्तो अवस्थामा नदी तथा खोला किनारमा जान पूर्ण रूपमा रोक लगाइएको छ। दोस्रो चरणमा दुई मिनेट लगातार दुई पटक साइरन बजाइनेछ। यसले जलाशयको पानीको सतह उच्चतम बिन्दुमा पुगेको संकेत गर्नेछ। यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवतीलाई सुरक्षित स्थानमा सार्न र पशुचौपायासमेत सुरक्षित राख्न आग्रह गरिएको छ। यस्तै, देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा समेत सावधानी अपनाउन भनिएको छ।तेस्रो चरणमा छोटो–छोटो अन्तरालमा लगातार तीन पटक साइरन बजाइनेछ। यो आपत्कालीन चेतावनी हुनेछ। यस्तो संकेत बजेको अवस्थामा बाँधका मुख्य ढोका खोलिएको र नदीमा बाढीको सतह अत्यधिक बढ्न सक्ने भएकाले तत्काल खोला किनार छाडेर अग्लो तथा सुरक्षित स्थानमा जान आयोजनाले आग्रह गरेको छ। यस अवस्थामा देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावतसमेत पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।

१ हजार ५२७ मिटरमा पहिलो साइरन
आयोजनाका प्रमुख राउतका अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चरणको साइरन बजाउने व्यवस्था गरिएको छ। हाल आयोजनाको समग्र अवस्था सन्तोषजनक रहेको जनाइएको छ। यद्यपि लगातार वर्षा भइरहेकाले जलाशयको पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले मनसुन अवधिभर पानीको सतह र जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्थालाई निरन्तर निगरानी गरिने आयोजनाले जनाएको छ। आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई साइरनका संकेतबारे जानकारी राख्न, खोला तथा नदीको किनारमा नजान र आयोजनाबाट जारी हुने सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय