नागरिकता किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न नेपाली कांग्रेसका नेताहरुको लर्को लागेको छ। उनलाई भेट्न कांग्रेसका सांसदहरु रामहरी खतिवडा, एनपी साउद, रामनाथ अधिकारी, राजेन्द्र बजगाईँ, चन्दा चौधरीलगायत नेताहरु पुगेका छन् । मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो। यसअघि कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेलले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएका थिए । उता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । यस्ता ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने उनको भनाइ छ ।



मंगलबार आफूलाई भेट्न पुगेका नेपाली कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँध्न खोजिएपनि कान्तिपुरले आफ्नो काम गरिरहने बताएका थिए । ‘व्यक्तिगत रुपमा म जस्तोसुकै अनुसन्धान र आक्षेप सहन तयार छु । तर कान्तिपुर मिडिया ग्रुपलाई राजनीतिक सौदाबाजी गर्न खोजेको मलाई पटक्कै मान्य छैन’, उनले भने । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेपछि ब्याग, लुगाफाटो र औषधि सबै गाडीमा हालेर अफिस आएको पनि बताए । ‘म त यो कुरा थाहा पाएपछि, ब्याग, लुगाफाटो औषधि सबै हालेरै आएको छु गाडीमा’, उनले भने ।



