काठमाडौँ । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकद्वय पुरस्कार प्रदान गरिएको हो । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको भन्दै आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्,’ नोबेल पुरस्कार कमिटीले भनेको छ ।



कोरोना महामारीका बेला मोडर्ना, फाइजर÷बायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर(१० लाख अमेरिकी डलर) दिइनेछ । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ३, रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिने कमिटिले जनाएको छ ।



