कोशी प्रदेश सभाले ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित गरेको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गरेका थिए ।
विधेयक पारित हुनु अगाडि बैठकमा सदस्यले सरकारको कर तथा राजस्व उठाउने विषयसँग सम्बन्धित यो विधेयकले प्रदेशको समृद्धिको यात्रा कोर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने बताए । छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको विधेयक भएकाले यसमा कर र करका दायराका विषयमा कुनै पनि फेरबदल नगरेको जानकारी दिए ।



उनले प्रदेशको आयको सबैभन्दा ठूलो स्रोत यातायात भएकाले यसलाई व्यवस्थित गर्ने कुरामा जोड दिए । मुख्यमन्त्री कार्कीले गिटी, बालुवा र ढुंगाका विषयमा स्थानीय तहले कर लगाउने भएकाले प्रदेश सरकारले यसबाट आउने करलाई व्यवस्थित मात्र गर्ने स्पष्ट पार्दै सरकारले घरेलु तथा साना उद्योग दर्तामा सहुलियत दिने नीति लिएको जानकारी दिए ।



