काठमाडौं । आज खण्डग्रास चन्द्रग्रहण लाग्दै छ ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् शनिबार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ बजेदेखि सुरु हुने र आइतबार राति २ बजेर ३८ मिनेटमा ग्रहण सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।



चन्द्र ग्रहणको ९ घण्टा अघिदेखि सुतक लाग्ने धर्म ग्रन्थमा उल्लेख छ । आज दिउँसो ४ बजेर १९ मिनेटदेखि बाल, बृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।
ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायतका कर्म गर्दा शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । यो बेलामा
तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नु भनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात्।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत्।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।



