नेपाल–भारत सीमा अन्तर्गत उत्तर प्रदेशको सिद्धार्थनगरस्थित खुनुवा नाकामा नेपालबाट भारततर्फ फर्किँदै गरेका दुईवटा ट्रकबाट ठूलो परिमाणमा ओखर र फर्सीका बियाँ बरामद भएको छ। भारतीय भन्सार, सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीले संयुक्त रूपमा गरेको जाँचका क्रममा ट्रकबाट ती सामग्री बरामद गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टअनुसार दुवै ट्रक भारतको टाँडाबाट फ्लाइएस (फ्लाइ ऐस) बोकेर नेपाल आएका थिए। ट्रकहरू भैरहवास्थित सम्राट सिंह ट्रेडिङ कम्पनीका लागि फ्लाइएस लिएर नेपाल प्रवेश गरेको बताइएको छ। नेपालमा फ्लाइएस खाली गरेपछि भारत फर्किने क्रममा खुनुवा नाकामा उनीहरूलाई जाँचका लागि रोकिएको थियो।

खुनुवा कस्टम ब्यारेयर नजिकै दुवै ट्रकलाई रोकेर प्रारम्भिक जाँच गरिएको थियो। सुरुमा चालकको केबिनलगायत सामान्य भागमा जाँच गर्दा कुनै शंकास्पद वस्तु फेला नपरेको जनाइएको छ। तर चालक र सहचालकको व्यवहार तथा सोधपुछका क्रममा देखिएको असहयोगका कारण सुरक्षाकर्मीले ट्रकको थप गहन जाँच गरेका थिए। गहन जाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा १३ हजार ८४० किलोग्राम फर्सीका बियाँ र १० हजार ८२० किलोग्राम बोक्रासहितको ओखर बरामद भएको रिपोर्टमा उल्लेख छ।

बरामद सामग्री भेटिएपछि भारतीय सुरक्षा तथा भन्सार अधिकारीले दुवै ट्रक नियन्त्रणमा लिएका थिए। तीमध्ये एउटा ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएर ट्रकसहित खुनुवा कस्टमको जिम्मा लगाइएको जनाइएको छ। अर्को ट्रकका चालक र सहचालक भने घटनास्थलबाट फरार भएको बताइएको छ। प्राप्त विवरणअनुसार दुवै ट्रक सेप्टेम्बर २१ मा यूपी ४७ एटी २५०१ र यूपी ४७ एटी १९१३ नम्बरका ट्रक टाँडाबाट फ्लाइएस लिएर नेपालका लागि हिँडेका थिए। सेप्टेम्बर २२ मा उनीहरू खुनुवा नाकाबाट नेपाल प्रवेश गरेका थिए। नेपालमा फ्लाइएस खाली गरेपछि भारत फर्कने क्रममा उनीहरूलाई जाँचमा नियन्त्रणमा लिइएको हो।

बरामद ओखर र फर्सीका बियाँ कहाँबाट ल्याइएको थियो, नेपालमा कसरी ट्रकभित्र राखियो तथा भारततर्फ लैजान खोजिएको उक्त सामग्रीको कानुनी हैसियत के हो भन्ने विषयमा भारतीय भन्सार तथा सुरक्षा निकायले अनुसन्धान अघि बढाएको जनाइएको छ। घटनाबारे थप अनुसन्धानपछि बरामद सामग्रीको स्रोत, ओसारपसारमा संलग्न व्यक्तिहरू तथा सम्भावित कानुनी प्रक्रियाबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय