काठमाडौं । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानहरुले बारीमा पसिना बगाएर भविष्य उज्ज्वल बनाएका छन् । खेतवारीमै काम गरेर गाउँका युवाहरु इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक बनेका छन् ।

पहाडी भू–भागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलमा भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौं उपत्यकाबाट आधा घण्टाको दूरीमा पुग्न सकिने यो सानो गाउँ बिहानैदेखि खेतबारीमा काम गर्न भ्याइँ नभ्याइँ हुन्छ । कोही मुला उखेल्दै हुन्छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारीमा हुन्छन् । जम्मा ३६ परिवारको मात्र बसोबास रहेको यो गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा नभएको घर नै छैन । यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । स्कुल विदाका दिन स–साना बालबालिका पनि बारीमा भेटिन्छन् । गाउँका किसानले गर्वका साथ भन्छन्, ‘हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ ।’

काठमाडौंबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भएपनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ । उनीहरु खेतबारीलाई खेतबारी मात्र नभई विद्यालय भन्छन् । जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सिँचाईलाई प्राथमिकतामा राखेकोले अहिले गाउँमा खेतीपाती गर्नेको संख्या बढ्दै गएको बताउँछन् । उहाँले सामूहिक ट्याङ्की र पाइप प्रणाली निर्माणसँगसँगै किसानलाई प्रविधिसँग जोड्दा अहिले गाउँमा उत्पादनमा दोब्बर बृद्धि भएको बताउँछन् । चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउँछन् ।

मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ । काठमाडौं–हेटौंडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्नमात्र होइन, खेती गर्ने अनुभव लिन सक्नेछन् । धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् ।

इन्द्रसरोवर–५ उत्तरी मकवानपुरको काठमाडौं सीमानामा पर्छ । यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय