खोटाङको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना चलिरहँदा भगवान महादेवको पूजा गर्न बाक्लो संख्यामा भक्तजनहरु मन्दिर पुगिरहेका छन् ।



Khotang Halesi Mahadev Darshan tour /एकपटक पुग्ने पर्ने ठाउं #halesi #ournewscrew #khotang
हलेसी महादेवको मन्दिर हिन्दू, बौद्ध र किराती धर्मालम्बीहरुको तिर्थस्थल हो । मन्दिरको गुफाभित्र रहेको एउटै शिलालाई हिन्दू, बौद्ध र किरात धर्माबलम्बीले श्रद्धा र भक्तिपूर्वक आ–आफ्नै शैलीले पूजाआजा गर्ने गर्दछन् । त्रिधार्मिक स्थलको रुपमा परिचित मन्दिरमा अहिले भने हिन्दू धर्माबलम्बीको चहलपहल बढेको छ । साउन महिना त्यसमा पनि सोमबार भगवान शिवको पूजाआराधन गर्नका लागि मन्दिरमा उल्लेख्य मात्रामा भक्तजनहरु पुग्ने गरेका छन् ।
बाला चतुर्दर्शी, शिवरात्री, रामनवमी, साउन महिना र तीजमा बिशेष मेला लाग्ने हलेसीमा स्वदेशका साथै विदेशका विभिन्न स्थानबाट समेत धामिर्क पर्यटकहरु आउने गर्दछन् । हलेसी मन्दिरमा बिहानको झुल्के घामबाट शुरु हुने भगवान शिवको पूजाअर्चना साँझ आरती गरेसँगै बन्द हुने गरेको छ ।
करिव २६ रोपनी क्षेत्रफलमा फैलिएको हलेसी मन्दिर परिसरमा तीन वटा गुफा रहेका छन् । मन्दिर परिसरमा महादेव शिव बिराजमान भएको विश्वास गरिएको महादेव गुफा, बसाह गुफा र भैरव गुफासहित बौध धर्मावलम्बीहरुको मारातिका गुम्बा पनि रहेको छ । हिन्दू, बौद्ध र किरात धर्माबलम्बीको आस्थाको केन्द्र हलेसी महादेवको मन्दिरलाई बाघ बंसी राईले पत्ता लगाएका थिए ।
‘हलेसी गुफा’को प्राकृतिक भु–बनोटलाई विश्वमै अनौठो मानिन्छ । भूबनोटकै अवलोकनका लागि समेत पर्यटकहरु मन्दिर पुग्ने गरेका छन् । आफैले बरदान दिएको भस्मासुर राक्षसबाट जोगिन महादेवले मोहनी रुप धारण गरी हलेसीमा आएर बसेको धार्मिक मान्यता रहेको छ ।
सबै धर्माबलम्बीको आस्थाको केन्द्र एवम् पर्यटकीय क्षेत्र हलेसी महादेव मन्दिरको व्यवस्थापन भने राजनीतिक खिचातानीका कारण सोचेजति व्यवस्थित भएको देखिदैन । आगामी दिनमा पनि व्यवस्थापनमा ध्यान नदिए धार्मिक र पर्यटकीय क्षेत्रबारे नकारात्मक सन्देश अन्यत्र फैलन सक्नेतर्फ सबै सचेत हुन जरुरी छ ।



