काठमाडौं । नेपालको राजनीतिक परिस्थितिमा अहिले सत्तारुढ गठबन्धनका नेताहरू सरकारको स्थायित्वबारे बारम्बार अभिव्यक्ति दिनुपर्ने अवस्थामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने दाबी भइरहे पनि गठबन्धनभित्रको असहमति र बाहिरको दबाबले यो विषय निरन्तर चर्चामा छ ।
शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार परिवर्तनको खेलमा नरहेको र सरकारबाट बाहिर बसेर जनतामाझ जान सहज भएको दाबी गर्नुभएको थियो । उता कांग्रेस महामन्त्री गगन थापाले पनि आफ्नो पार्टी सरकार फेर्ने खेलमा नरहेको भन्दै प्रष्टिकरण दिनुपरेको छ । तर, यही समयमा बुटवलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार भत्काउने षड्यन्त्र नगर्न चेतावनी दिँदै अभिव्यक्ति दिनुभएको छ । यी सबै अभिव्यक्तिले गठबन्धनभित्र र बाहिर कुनै न कुनै चलखेलको संकेत दिएको छ ।



नेपाली राजनीतिको इतिहास हेर्दा सत्तारुढ दलहरूले सरकार टिकाउने प्रयास गर्दा र विपक्षीले सरकार ढाल्ने सम्भावनालाई खण्डन गर्दा जनतामा भ्रम पैदा हुँदै आएको छ । बिना हावा पात हल्लिन्न भन्ने उखान यहाँ ठ्याक्कै मिल्छ । प्रधानमन्त्री ओलीले ‘सरकार खरानीको डल्लो होइन’ भनेर दिएको अभिव्यक्तिले सरकार रक्षात्मक अवस्थामा रहेको पुष्टि गर्छ ।
गठबन्धनभित्रको असहमति र नेताहरूबीचको अविश्वास स्पष्ट छ । कांग्रेस नेता प्रकाशमान सिंहले सरकार २०८४ सम्म टिक्ने भन्दै सहमतिको कुरा गर्दा पनि, माओवादी र कांग्रेस नेताहरूका परस्पर विरोधी अभिव्यक्तिले उनीहरूबीचको राजनीतिक अस्थिरता झल्काउँछ ।
नेताहरूले बारम्बार सरकारको स्थिरता र गठबन्धनको औचित्य प्रष्ट्याउनु परिरहेको वर्तमान अवस्था सत्ताप्रतिको असुरक्षाको संकेत हो । एकातिर सरकार टिकाउने कसरत र अर्कोतिर षड्यन्त्रको गन्धले यो गठबन्धन सरकार कति समय टिक्ला भन्ने प्रश्नलाई थप बल दिएको छ । जनता भने यी सबै खेल तमाशाबाट निराश छन् । सत्ता र प्रतिपक्षका नेताहरूको गतिविधिले उनीहरूकै प्राथमिकतामा प्रश्न उठ्न थालेको छ ।



