काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन ।
सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको लिङ्देनले दाबी गरे । भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर दंगा पिटेर जनमानसलाइ भ्रममा राखेको बताए । ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको उनको दाबी छ ।



सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको भन्दै अध्यक्ष लिङ्देनले सरकारले देशमा लुट मच्चाउने योजना बनाइरहेको बताए ।



