सप्तरी । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु काँग्रेसको हातमा रहेको बताउनु भएको छ । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरुको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको भन्दै औचित्यपूर्ण ढंगबाट राजिनामा मागे राम्रो हुने सुझाव दिनुभयो । उहाँले सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटर ब्याज पीडितको समस्या समाधान गर्न गम्भीरता पूर्वक लागिरहेको बताउनु भयो ।



आफ्नो समस्या समाधानका लागि काठमाडौं आईपुगेका मिटर ब्याज पीडितहरुलाई गृहमन्त्री श्रेष्ठ भन्नुहुन्छ, ‘समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौ, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन्।’



