कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले संगठित अपराधमा संलग्नहरू सरकारमा अहिले पनि रहेको बताउनु भएको छ ।
पोखरामा आयोजित विरोध कार्यक्रममा वाग्लेले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधिहरु अहिलेको मन्त्रिपरिषद्मा रहेको र उनीहरुबाट ध्यान मोड्न लामिछानेलाई पक्राउ गरिएको बताउनु भयो ।



उहाँले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाउनु भयो ।
महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताउनु भएको थियो । संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीमार्फत रकम ल्याई हिनामिना गरेको निस्कर्ष निकालेको थियो ।
सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउन रवि लामिछानेलाई पक्राउ गरिएको उहाँले आरोप लगाउनु भयो ।



