रञ्जित सिह-

मुस्ताङको शुष्क, शान्त र स्वर्गीय पहाडहरूबीच एउटा यस्तो स्थान छ, जहाँ हावामा पनि आस्था मिसिएको महसुस हुन्छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको गुरू पेमालिङ गुम्बा पुग्नेबित्तिकै मन एकाएक हलुका हुन्छ, अनि शरीरभन्दा अगाडि आत्मा नै सजग भएर गुम्बातिर आकर्षित हुन्छ। यो गुम्बा बौद्ध धर्मका अनुयायीहरूका लागि गहिरो श्रद्धा र भक्ति स्थल हो। यहाँको चुकचुके हावा, रङ्गीचङ्गी प्रार्थना झण्डाहरू, अनि गुम्बाभित्र गुञ्जिने मन्त्र ध्वनीहरूले एक किसिमको अपार्थिव ऊर्जा प्रवाहित गरिरहेको जस्तो लाग्छ। यो ऊर्जा, जुन शायद गुरू पद्मसम्भवको उपस्थितिको अनुभूति हो—उहाँ जसले तिब्बती बौद्ध धर्मको विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो। स्थानीय बासिन्दाहरूको विश्वास अनुसार, गुरू रिन्पोछेले यही ठाउँमा बसेर ध्यान र साधना गर्नुभएको थियो। त्यसैले यो गुम्बा उनीप्रतिको श्रद्धा मात्र होइन, हिमाली जनजीवनको आध्यात्मिक इतिहासको अभिन्न अंश पनि हो।

एकचोटि पुगियो भने, फेरि फर्किन मन लाग्दैन
मैले आफूले अनुभव गरेको कुरा भन्नुपर्दा, गुम्बासम्मको यात्रा नै एक किसिमको साधना जस्तै लाग्यो। दुर्गम बाटो, उकाली ओराली पार गरेर गुम्बाको आँगनमा पुग्दा एउटा गहिरो सन्तोष महसुस भयो। त्यहाँको मौनतामा पनि मानौँ केही बोलिरहेको थियो—शायद गुरू रिन्पोछे आफैंको मौन सन्देश। गुम्बाको भित्ताहरूमा कोरिएका चित्रकला, पुराना ग्रन्थहरू, अनि ध्यानमग्न लामा गुरुहरूको उपस्थिति—सबैले यहाँको धार्मिक र सांस्कृतिक गहिराइ दर्शाउँछन्। यहाँ वर्षमा विभिन्न चाडपर्व, पूजा, र ध्यान शिविरहरू आयोजना हुन्छन्, जसमा नेपालभित्रका मात्रै होइन, भारत, भुटान, तिब्बत र पश्चिमी मुलुकका श्रद्धालुहरू पनि सहभागी हुन्छन्।

धर्म र पर्यटनको संगम
गुरू पेमालिङ गुम्बा एउटा यस्तो थलो हो, जहाँ धर्म, संस्कृति र प्रकृति एकैसाथ अनुभूति गर्न सकिन्छ। पर्यटकहरूका लागि यो स्थान स्पिरिचुअल ट्राभलू को उत्कृष्ट उदाहरण हो। यहाँको वातावरण यस्तो छ कि जो आए, उसले केही न केही परिवर्तन महसुस गरेर फर्किन्छ—धेरैजसोले अझ बढी शान्त र गहिरो अनुभूति लिएर। गुरू पेमालिङ गुम्बा केवल ईंट-पत्थरको संरचना होइन, यो त एक आध्यात्मिक सम्पदा हो, जुन हरेक नेपालीले चिन्न, जान्न र जोगाउनुपर्ने ऐतिहासिक निधि हो। यस्ता स्थलहरू हाम्रो धर्म, संस्कृति र चेतनाको पहिचान हुन्। यदि तपाईं कहिल्यै मुस्ताङ जाने योजनामा हुनुहुन्छ भने, एकछिन समय छुट्याउनुहोस् र यो गुम्बाको आँगनमा बस्नुहोस्। तपाईंको हृदयले धन्यवाद देला।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय