काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर युवराज सफलले स्वार्थको मन्त्रालय जोडिएको भन्दै तत्कालै लामिछाने र अर्यालको मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै निवेदन पेश गर्नुभएको थियो ।



सफलले निवेदनमा लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै उक्त व्यक्ति गृहमन्त्रीमा रहँदा आफ्नो राहदानी र ठगीको मुद्दाको अनुसन्धान प्रभावित पार्ने संभावना भएको भन्दै तत्काल मन्त्रालय हेरफेर गर्न निवेदन दिएका हुन् ।
त्यस्तै, लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गरिरहेकोले उहाँलाई तत्काल पदमा रहिरहन नमिल्ने सफलको दाबी छ ।
त्यस्तै, श्रममन्त्री डिपी अर्याल मेनपावर व्यवसायी भएको र अहिले पनि उहाँले म्यान पावर कम्पनीको जिम्मेवार पदमा रहेकोले श्रममन्त्रीको जिम्मेवारी दिन नहुने निवेदकको दाबी छ ।
सफलले निवेदनमा उहाँहरुको मन्त्रालय हेरफेर नगरे प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाई कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।




