काठमाडौँ — नवनियुक्त गृहमन्त्री सुधन गुरुङका फेसबुक पोस्ट अहिले सर्वसाधारण र राजनीतिक वृत्तमा चर्चा र कौतुहलको विषय बनेका छन्। विशेषगरी उनले बिहानै राख्ने ‘गुड मर्निङ’ पोस्टले जनता र मिडियाको ध्यान खिचेको छ। १३ चैतमा मन्त्री पद सम्हालेका गुरुङले फेसबुकमार्फत आफ्नो सक्रियता देखाउन थालेका हुन्। उनले पहिलो पटक पोस्ट राख्न थालेको पृष्ठभूमि २३–२४ भदौको ‘जेन-जी’ विद्रोह र त्यसक्रममा भएको मानवीय क्षतिको छानबिनसँग जोडिएको छ।

गृहमन्त्रीले फेसबुकमा राख्ने पोस्ट अहिले उच्च पदस्थ व्यक्तिको पक्राउ र कानुनी कदमसँग जोडिँदै आएको देखिन्छ। उदाहरणका लागि, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गुरुङले ‘गुड मर्निङ नेपाल’ लेखेका थिए। यसले सामाजिक सञ्जालमा हलचल मच्चाएको थियो।

उनले पक्राउको खबरसँगै ‘कानुनभन्दा माथि कोही छैन’ जस्ता पोस्ट राखेर न्याय प्रक्रिया र कानुनी कार्यवाहीमा सरकारको दृढता जनाएका छन्। पछिल्ला दिनमा पूर्व ऊर्जामन्त्री दीपक खड्का र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ परेपछि उनका ‘गुड मर्निङ’ पोस्टले ध्यान खिच्ने माध्यम बनेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यस शैलीलाई विविध रुपमा व्याख्या गरिरहेका छन्। कतिपयले ‘इतिहासकै खतरनाक गुड मर्निङ’ भनेका छन् भने कतिपयले भ्रष्ट अधिकारीका लागि ‘ब्याड मर्निङ’ टिप्पणी गरेका छन्। यस्तो अनौठो शैलीले जनता र राजनीतिक वृत्तबीच कौतुहलता बढाएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय