रसुवा — गोसाइँकुण्ड दर्शनका लागि पुगेकी ६५ वर्षीया तीर्थयात्री तारा देवी नेपाल लेक लागेर बिरामी भएपछि नेपाली सेनाले उद्धार गरेको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट निवासी नेपाललाई आइतबार बिहान ७ः३० बजे गोसाइँकुण्ड गाउँपालिका–५ स्थित लौरीविनायक क्षेत्रमा स्वास्थ्य समस्या देखिएको थियो। उच्च उचाइमा पुग्दा देखिन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उद्धार तथा स्वास्थ्य टोली परिचालन हुँदै आएको छ।
घटनाको जानकारी पाएलगत्तै श्रीनाथ गणअन्तर्गत चन्दनबारी सुरक्षा पोस्टबाट हुद्दार गोपाल चौधरीको नेतृत्वमा नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। सेनाको टोलीले बिरामीलाई प्राथमिक उपचार गरी थप उपचारका लागि रसुवा जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको जनाइएको छ। समुद्री सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विशेषगरी धार्मिक पर्व तथा तीर्थयात्राका समयमा ठूलो संख्यामा श्रद्धालु पुग्ने गरेका छन्। उच्च उचाइका कारण यात्रुमा लेक लाग्ने समस्या देखिन सक्ने भएकाले गोसाइँकुण्ड क्षेत्रमा स्वास्थ्य तथा उद्धार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। बिरामी तीर्थयात्रीको स्वास्थ्य अवस्था र थप उपचारबारे विस्तृत विवरण आउन बाँकी छ।






