नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ । आज काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’आइएलएस सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने उसले बताएको हो ।
विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भएपनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।



गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ । भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको छ ।



