काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित गौचरणमा विशेष पूजा हुने भएको छ ।
वनदेवी सामुदायिक भवन संरक्षण समितिले असोज महिनाको घटस्थापना देखि नौ दिनसम्म दुर्गाको मूर्तिराखि विशेष पूजाआजा गर्न लागेको हो । दुर्गा पूजाको संयोजक श्यामकुमार केसीले पूजा स्थलमा नवदुर्गा भगवतीको मूर्ति राखिने पनि जानकारी दिनुभयो । उहाँले दुर्गाको नौ रुप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको मूर्ति पूजा स्थलमा राखिने बताउनु भयो ।



संयोजक केसीले विहान नौ दिनसम्म विशेष पूजा गरिने र साँझमा दुर्गा भजन हुने साथै दशौं दिन दुर्गाको मूर्तिलाई बागमती नदीमा लगेर सेलाउने पनि जानकारी दिनुभयो ।
दश दिनसम्म संचालन हुने पुजाको सम्पूर्ण खर्च ३ लाख हुने र दुर्गाको मूर्ति बनाउनको लागि मात्र डेढ लाख खर्च लाग्ने समितिले जनाएको छ । संयोजक केसीले दुर्गाको मूर्ति बनाउने काम धमाधम भइरहेको पनि जानकारी दिनुभयो ।



