काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माण हुने भएको छ ।

संरचना निर्माण कार्य गर्न तथा पूर्वाधार विकास गर्न बिहिबार चन्द्रागिरि नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीच त्रिपक्षीय सम्झौता भएको हो ।सम्झौता अनुसार चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण हुने छ । संरचना निर्माणका लागि चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत चार करोड छत्तीस लाख नब्बेहजार तीनसय सन्तानब्बे रुपैया भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा र भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले सम्झौता(एमओयु) मा हस्ताक्षर गरेका हुन ।

 

पबित्र धार्मिक स्थल चन्दनभराटेश्वर महादेव मन्दिर सबै भक्तजनहरूको आस्थाको केन्द्र बिन्दु भगवान शिव को ६४ पिठहरु मध्ये ५० औं पिठमा रहेको उल्लेख गर्दै नगर प्रमुख गिरिले सम्झौताका लागि पहलकदमीमा साथ र सहयोग पुर्याउने सबैमा आभार ब्यक्त गरे साथै त्रिपक्षीय सम्झौता बमोजिम भारतीय राजदुताबास मार्फत प्राप्त हुने रकम पांच करोड र थप रकम चन्द्रागिरि नगरपालिकाले समेत ब्यहोर्ने गरि दुबैको सहकार्यमा उक्त मन्दिर परिसर निर्माण हुने भएकाले समयमै निर्माण कार्य सम्पन्न गर्न नगर प्रमुख गिरिले सबै नगरवासीहरुको साथ र सहयोगको अपेक्षा गरेका छन । हस्ताक्षर समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय