काठमाडौं । चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले महिलाहरू कुनै पनि क्षेत्रमा पुरुषभन्दा कमजोर नरहेको स्पष्ट सन्देश दिनुभएको छ । ‘पुरुषले मात्र सक्छन्, महिलाले सक्दैनन् भन्ने सोच पुरातन र अवैज्ञानिक’ भन्दै उहाँले समाजमा अझै विद्यमान लैङ्गिक विभेदकारी सोचलाई तोड्न सबैलाई आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाभित्र विभिन्न क्षेत्रमा पुरुषको उपस्थिति बढी देखिए पनि महिलाहरूलाई पनि पुरुषसँगसँगै अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्न नगरपालिका निरन्तर सक्रिय रहेको उपप्रमुख श्रेष्ठले बताउनुभयो । अब हरेक क्षेत्रमा महिलाहरू आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

खेलकुद क्षेत्रमा मात्र होइन, शिक्षा, व्यवसाय, नेतृत्व र सामाजिक गतिविधिलगायत हरेक क्षेत्रमा महिलाहरू कोहीभन्दा कम छैनन् भन्ने कुरा व्यवहारमै प्रमाणित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । महिलाहरूलाई कुनै समस्या परेमा, कुनै विषयमा जानकारी लिन चाहेमा वा स्वरोजगार बन्न चाहेको खण्डमा नगरपालिकामा सम्पर्क गर्न वा आफूसँग सिधै भेट्न आउन उहाँले खुला रूपमा आग्रह गर्नुभयो ।

आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुनुपरेका छोरी तथा बुहारीहरूका लागि चन्द्रागिरि नगरपालिकाले ‘उपमेयर छोरी–बुहारी शिक्षा कार्यक्रम’ लागू गरेको जानकारी दिँदै उपप्रमुख श्रेष्ठले महिलाको शिक्षा नै सशक्तीकरणको मुख्य आधार भएको बताउनुभयो । महिलालाई सक्षम, आत्मनिर्भर र सबल बनाउन नगरपालिकाले हरेक वर्ष विभिन्न सीपमूलक तालिमसँगै कानुनी साक्षरता तालिमहरू सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख श्रेष्ठले चन्द्रागिरि नगरपालिकामा आयोजित दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिताको समापन कार्यक्रममा व्यक्त गर्नुभएको हो । कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय