काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेका संस्थागत विद्यालयले वार्षिक शुल्कको रुपमा गैरकानुनी रुपमा पैसा उठाएको पाईएको छ । शैक्षिक सत्र २०८१-०८२ को भर्ना अभियानको क्रममा संस्थागत विद्यालयले गैरकानुनी रुपमा पैसा उठाएका हुन् । शिक्षा नियमावली २०५९ को आठौं संशोधन नियमावली २०७१ ले शुल्क तथा धरौटी लिन पाउने सम्बन्धमा स्पष्ट मापदण्ड तय गरेको छ । नियमावलीको नियम १४६ को (ख) १ मा विद्यालयमा पहिलो पटक भर्ना हुँदा एक पटकको लागि भर्ना हुने कक्षाको मासिक पढाई शुल्कमा नबढ्ने गरी भर्ना शुल्क लिन पाउने प्रावधान छ । तर, संस्थागत विद्यालयले भने आफ्नो विद्यालयमा पढ्ने विद्यार्थीबाट वर्षैपिच्छे भर्ना शुल्क या अन्य बहानामा विविध शुल्क उठाउँदै आएको छ ।

नगरपालिकाको तथ्यांक हेर्दा ४९ वटा संस्थागत विद्यालय रहेको र करिव २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देखिन्छ । अहिले संस्थागत विद्यालयले न्यूनतम ४ हजारदेखि २४ हजारसम्म भर्ना शुल्क (ANNUAL FEE) उठाएको पाईएको छ । यो तथ्यांकलाई आधार मान्दा संस्थागत विद्यालयहरुले गैरकानुनीरुपमा अभिभावकहरुसँग करोडौं रुपैयाँ ठगी गरेको स्पष्ट देखिन्छ । यस विषयमा अनुगमन र कारवाही गर्ने नगरपालिकाको शिक्षा शाखाले भने यसलाई न अनुगमन गरेको छ न त कारवाही नै । यसको मतलव नगरपालिकाको शिक्षा शाखाले यो ठगीलाई बैधानिकता दिन मौन स्वीकृति दिएको छ । पछिल्लो समय वार्षिक शुल्क लिएको विषयमा केही अभिभावकहरु हाम्रो कार्यालयमै आइपुगेका छन् । उनीहरुले वर्षैैपिच्छे भर्ना गरिरहनुपर्दाको आर्थिक भारको पीडा र नगरपालिकाको आधिकारिक धारणा बुझिदिन आग्रह गरेका छन् ।

साथै अभिभावकहरुले गुनासो गर्दा विद्यालयहरुले भने एक अर्को विद्यालयलाई देखाएर आफु पन्छन खोजेको र सबैले फिर्ता गरे आफुहरु पनि फिर्ता गर्न तयार रहेको जवाफ दिएको अभिभावहरु बताउँछन् ।

यता, केही महिना अघि मात्र सरुवा भई आएका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुजनराज खनालले भने अघिल्ला वर्षहरुमा पनि नगरमा यही प्रवृत्ति भएको र आफूले पनि त्यसैलाई निरन्तरता दिएको बताउँछन् । उनले सरोकारवाला निकायसँग छलफल र कानूनसम्मत कारवाही प्रक्रिया अघि बढाउने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय