काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र रहेको काठमाडौं शिक्षा क्याम्पसले Quality Assurance Accrediation (QAA) प्राप्त गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा रहेको काठमाडौं शिक्षा क्याम्पस नगरभित्र रहेका सामुदायिक तथा नीजि क्याम्पस मध्ये शिक्षा क्याम्पस QAA प्राप्त गर्ने पहिलो क्याम्पस बनेको छ । २०४८ सालमा पद्मोदय मोडबाट सुरुवात गरेको शिक्षा क्याम्पसले तीसौं वर्षको अथक प्रयासपछि QAA प्राप्त गर्न सफल भएको हो ।

क्याम्पसले QAA प्राप्त गरेसँगै विशेष कार्यक्रम आयोजना गरेको छ । विश्व विद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा.देवराज अधिकारीले सामुदायिक क्याम्पसले नेपालमा शिक्षा क्षेत्रमा अतुलनीय योदान पुर्याएको बताउनु भयो । उहाँले QAA प्राप्त गर्नु सानो कुरा नभएको र त्यसलाई जोगाई राख्नु अझ ठूलो चुनौति रहेको बताउनु भयो । प्रमुख अधिकारीले हरेक पाँच पाँच वर्षमा QAA प्रदान गरिने हुँदा लगातार तीन पटकसम्म QAA प्राप्त गर्नुपर्ने प्रावधान रहेकोले सोही अनुरुप काम गर्न क्याम्पसलाई सचेत गराउनु भयो । उहाँले त्रिविले परीक्षाफल प्रकाशनमा ढिलाई गर्दा विद्यार्थी र अभिभावक आजित भएको र त्रिविकै कारण विद्यार्थीहरु विदेशीन बाध्य भएको पनि आरोप लगाउनु भयो ।

बागमती प्रदेश १० (ख) का प्रदेश सभा सदस्य रमा आलेमगरले शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहयोगबाट आज शिक्षा क्याम्पस यो अवस्थामा आइपुगेको बताउनु भयो । उहाँले आफ्नो विद्यार्थी जीवनको सुरुवातदेखि नै शिक्षा क्याम्पससँग जोडिएर काम गरेको र आफु अहिले यहाँको जनप्रतिनिधि भई जिम्मेवारी बहन गर्दै गर्दा प्रत्यक्ष रुपमा क्याम्पसलाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले क्याम्पसले QAA प्राप्त गरेसँगै आफुहरुको अझै क्याम्पसप्रतिको दायित्व बढेर गएको पनि उल्लेख गर्नुभयो ।

चन्द्रागिर नगरपालिकाका प्रमुख घनश्याम गिरीले क्याम्पसले QAA प्राप्त गरेसँगै नगरको शैक्षिक विकासमा कोसेढुंगा सावित हुन पुगेको दाबी गर्नुभयो । उहाँले QAA प्राप्त गर्ने नगरको एक मात्र क्याम्पस भएकोले आगामी दिनमा थप व्यवस्थापनको लागि नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिव महर्जनले शिक्षा क्याम्पस आफ्नो वडामा हुनु गौरबको विषय भएको बताउनु भयो । उहाँले काठमाडौंमा तीन वटा क्याम्पसले QAA प्राप्त गरेको त्यसमध्ये आफ्नो वडामा पर्ने शिक्षा क्याम्पसले QAA प्राप्त गर्दा आफु उत्साहित भएको उल्लेख गर्नुभयो । अध्यक्ष महर्जनले आफुले अघि पनि क्याम्पसलाई पूर्णरुपमा सहयोग गर्दैआएको र अबका दिनमा पनि आफुले क्याम्पसको भौतिक संरचना देखि व्यवस्थापनसम्म सक्दो सहयोग गर्ने बताउनु भयो ।

सोही अवसरमा क्याम्पसले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, पूर्वराज्यमन्त्री शान्ता भट्टराई, नेकपा माओवादी केन्द्रकी पूर्वसांसद अञ्जना विसंखे, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय