काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ अन्तर्गत पर्ने महादेवगाउँमा अवस्थित चन्दनभर्राटेश्वर महादेव मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा परिचित छ । प्राकृतिक सौन्दर्यले घेरिएको शान्त वातावरणबीच अवस्थित यो तीर्थस्थल विशेषगरी शिवभक्तहरूका लागि गहिरो आस्थाको केन्द्र बनेको छ ।
ग्रन्थमा उल्लेखित शक्ति पीठ



धर्मग्रन्थहरूमा वर्णन गरिएअनुसार, सतीदेवीको देह त्यागपछि भगवान शिवले शतिदेवीको शरिर बोकेर हिड्दा अंग विभाजन भई जहाँ–जहाँ ती अंग खसेर पतन भए, ती स्थानहरू शक्ति पीठका रूपमा प्रतिष्ठित भए । सोही परम्परा अनुसार चन्दनभर्राटेश्वर महादेव रहेको यो स्थानलाई सतीदेवीको दाहिने कान पतन भएर ५०औँ शक्ति पीठका रूपमा उल्लेख गरिएको पाइन्छ । यस मान्यताले यस स्थललाई साधारण शिवालयभन्दा माथि उठाएर शक्तिपूजा र शिवभक्तिको संगमस्थल बनाएको छ । यहाँ शिव र शक्तिको संयुक्त आराधना हुने विश्वास रहिआएको छ । स्थानीय बासिन्दा र धर्मप्रेमीहरूका अनुसार यस स्थानमा श्रद्धापूर्वक पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।
शिवरात्रीमा भक्तजनको उल्लेख्य उपस्थिति
विशेषगरी महाशिवरात्रीका दिन मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । बिहानैदेखि बेलुकासम्म जलाभिषेक, रुद्राभिषेक, भजन–कीर्तन तथा दीपप्रज्वलनजस्ता धार्मिक गतिविधि सञ्चालन हुन्छन् । व्रत बसेर भगवान शिवको आराधना गर्ने श्रद्धालुहरू टाढा–टाढाबाट यहाँ पुग्ने गरेका छन् । शिवरात्रीको अवसरमा मात्र नभई साउन महिनाभरि, सोमबारका दिन तथा अन्य धार्मिक पर्वहरूमा पनि यहाँ पूजाआजा गर्नेहरूको आवागमन बढ्ने गरेको स्थानीय बताउँछन् ।
ऐतिहासिकता र प्राकृतिक शान्ति
मन्दिर परिसर धार्मिक महत्त्वसँगै प्राकृतिक रूपमा पनि आकर्षक छ । हरियालीले ढाकिएको डाँडाकाँडा, स्वच्छ हावा र शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई आध्यात्मिक अनुभूति गराउँछ । स्थानीय परम्पराअनुसार मन्दिरको स्थापना प्राचीन कालदेखि नै हुँदै आएको मानिन्छ, यद्यपि यसको व्यवस्थित दस्तावेजीकरण अझै आवश्यक देखिन्छ ।
प्रचार–प्रसारको अभाव
यति महत्वपूर्ण शक्ति पीठ र शिवधाम हुँदाहुँदै पनि चन्दनभर्राटेश्वर महादेव राष्ट्रिय स्तरमा व्यापक रूपमा परिचित हुन सकेको छैन । प्रचार–प्रसारको कमी, पूर्वाधारको सीमितता र व्यवस्थित संरक्षणको अभावले गर्दा यो स्थल अपेक्षित रूपमा धार्मिक पर्यटनको केन्द्र बन्न सकेको छैन । स्थानीय सरोकारवालाहरू उचित संरक्षण, धार्मिक–सांस्कृतिक अध्ययन तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइएमा यो क्षेत्रले नयाँ पहिचान पाउने विश्वास व्यक्त गर्छन् ।
आस्थाको अमूल्य धरोहर
धर्मग्रन्थमा उल्लेखित शक्ति पीठको गौरव बोकेको चन्दनभर्राटेश्वर महादेव केवल एउटा मन्दिर मात्र नभई श्रद्धा, इतिहास र आध्यात्मिक चेतनाको प्रतीक हो । यस स्थलको संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमार्फत भावी पुस्तालाई यसको महत्वबारे अवगत गराउनु आजको आवश्यकता देखिन्छ । ओझेलमा परेको यो पवित्र धामलाई उचित पहिचान दिलाउन सके, चन्द्रागिरिको यो भू–भाग धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको छ ।




