काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर महादेव गाउँमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो । यो मन्दिर भगवान शिवको ६४ वटा ज्योतिर्लिङ्ग मध्ये ५०औं रहेको धर्मग्रन्थमा उल्लेख छ ।



चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माणको लागि भारतीय राजदूताबासबाट झण्डै ५ करोड रुपैयाँको सहयोग प्राप्त भएपछि स्थानीयले नेवारी समुदायको धर्म, संस्कृति, परम्परा र इतिहासलाई समिटिने गरी निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् । २ सय वर्ष भन्दा अघिदेखि महर्जन समुदायले चन्दन भराटेश्वर आसपासको क्षेत्रमा आफ्नो धर्म, संस्कृति रितिरिवाज मनाउँदै आएको र अहिले नेवार समुदायको अस्तित्व मेटिने गरी नयाँ संरचनाको डिपिआर हुँदा आफुहरुलाई कुनै हालतमा मान्य नहुने बताउँछन् । उहाँहरुले आफुहरु विकासको बाधक नभएको भन्दै संरचना निर्माण गर्दा आफुहरुको माग सुनिश्चितता हुने गरी निर्माण कार्य गर्न आग्रह गर्नुभयो ।
चन्द्रागरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संजय सिग्देलले भारतीय दुतावासबाट आउन लागेको बजेटमा मन्दिर परिसरमा जसले जेजस्तो संरचना बनाएपनि पहिलो स्थानीय तहको, दोस्रो स्थानीय बासीको स्वामित्व र अधिकार हुने निर्माण हुनुपर्ने बताउनु भयो ।
संरचना निर्माणका लागि गत माघ १८ गते बिहीबार चन्द्रागिरि नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको थियो । सोही सम्झौतापछि चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाललगायतका संरचना निर्माण हुनेछ । संरचना निर्माणका लागि चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत ४ करोड ३६ लाख ९० हजार ३ सय ९७ रुपैयाँ भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा र भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले सम्झौता(एमओयु) मा हस्ताक्षर गर्नुभएको थियो ।



