काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको सहकार्य र चन्द्रागिरि नगरपालिकाको आयोजनामा चन्द्रागिरि नगरक्षेत्रका सम्पदा तथा पर्यटनसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरभित्र रहेका इतिहास, संस्कृति, सम्पदाहरुको संरक्षण गर्ने र नगरमा भएका जिवित इतिहासलाई जनजनमा ल्याउने उद्देश्यअनुसार अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वमा नै नभएको तर चन्द्रागिरिमा मात्रै भएको एकमात्र तीर्थस्थल मातातीर्थ, मच्छेनारायण मन्दिर यहाँ हुनुले नगरको पहिचान यत्रतत्र स्वतरुपमा गुञ्जिएको पनि बताउनु भयो । प्रमुख गिरीले नेपालका एक सय पर्यटनको गन्तब्य स्थल मध्ये एक स्थल दहचोकको इन्द्रथान यही नगरमा पर्नुले पनि नगरको शोभा बढेको उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले देशैभरको गाउँपालिका, नगरपालिका मध्ये चन्द्रागिरि नगरपालिका इतिहास, सम्पदा र संस्कृतिको पक्षमा कमजोर नभएको बताउनु भयो । उहाँले नगरभित्र अन्य नगरमा नभएको सम्पदा आफ्नो नगरमा मात्रै भएको दाबी समेत गर्नुभयो । उहाँले कही नभएको जात्रा सात गाउँले जात्रा, सम्पदा, इतिहास चन्द्रागिरिमा भेटिनुले नगरबासीले यसलाई नगरको शान र गौरबको रुपमा लिनु पर्ने बताउनु भयो । उहाँले अब यस्ता सम्पदा, इतिहास र सस्कृतिलाई बन्द कोठामा नराखी सत्यतथ्य बाहिर ल्याउन ढिलाई भइसकेको पनि उल्लेख गर्नुभयो ।

यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले प्रागिक र पुरातत्व विभागसँग सहकार्य गरी चन्द्रागिरि नगरको संस्कृति, सम्पदा र पुुरात्वबारेमा अनुसन्धान गर्ने कार्य सुरु हुनुले नगरको संस्कृति संरक्षण र विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब इतिहास, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोडेर नगरको आर्थिकोपार्जनलाई बढावा दिने उद्देश्यले यो अन्तरक्रिया कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका इतिहास अन्वेषक रवीन्द्र रिजालले प्राज्ञिक, प्रोफेसरले चन्द्रागिरिको इतिहास, संस्कृति र सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गर्दा चन्द्रागिरि नगर भित्र रहेका इतिहास, सास्कृति र सम्पदाको विषयमा आधार नपुगेका, प्रमाण नभएका विषय प्रस्तुत भएको बताउनु भयो । उहाँले अरुले भनेको भरमा, सुनेको भरमा आधार नभएका कुरा ल्याएर इतिहास बंग्याउन नहुने भन्दै सत्यतथ्य बुझेर बाहिर ल्याउन सुझाव समेत दिनुभयो । उहाँले सतिदेवीको भाल पतन चन्द्रागिरिमा नभई पनौतिमा भएको र पृथ्वीनारायण शाह चन्द्रागिरि हिल्स भएको डाँडामा नभई चन्द्रागिरि भञ्ज्याङमा आएको लिखित इतिहास रहेकोले चन्द्रागिरिको बास्तविक इतिहास बुझेर मात्र इतिहास र सस्कृतिलाई मूर्तरुप दिन आग्रह समेत गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले कार्यपत्रमा समेटिएका सुझावलाई समेटिएर नगरको सम्पदा संरक्षणमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रा.डा. प्रेमकुमार खत्रीले सांस्कृतिक सम्पदा र पर्यटन विकासमा तीनको महत्व, प्रा. डा. वीणा पौडेलले चन्द्रागिरि भेगका मूर्त अमूर्त सांस्कृतिक सम्पदा र तीनको वर्तमान अवस्था, प्रा.डा. मदनकुमार रिमाल चन्द्रागिरि क्षेत्रको इतिहास र पुरात्व, प्रा.डा. धनबहादुर कुँवरले संग्रहालयको अवधारणा र आवश्यकता र प्रा. डा. डिल्ली ओलीले चन्द्रागिरि भेगका अभिलेखहरु र तीनको महत्वको विषयमा कार्यपत्र पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय