काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर अफ्रिकन स्वाइन फिभरको जोखिम बढेको भन्दै चेतावनी जारी गरेपछि चन्द्रागिरि नगर क्षेत्रका बंगुर पालक किसानहरूमा चासो र चिन्ता बढेको छ । यद्यपी, स्थानीय पशु सेवा शाखा र सम्बन्धित निकायले चन्द्रागिरिका फार्महरूमा हालसम्म यो रोगको औपचारिक पुष्टि नभएको स्पष्ट पारेका छन् ।



पछिल्लो समय केही स्थानीय सञ्चारमाध्यममा आएका अपुष्ट समाचारले किसानमा त्रास फैलाएको भन्दै विज्ञहरूले आधारहीन हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
“हालसम्म चन्द्रागिरिमा अस्वाभाविक रूपमा बंगुर मरेको वा ठूलो संक्रमण फैलिएको रिपोर्ट छैन,“ एक स्थानीय प्राविधिकले भने, “तर काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा संक्रमण देखिएकाले हामीले पूर्वतयारी र जैविक सुरक्षामा जोड दिनु आवश्यक छ ।”
अफ्रिकन स्वाइन फिभर सुँगुर, बंगुर र बँदेल प्रजातिमा लाग्ने एक संक्रामक विषाणुजन्य रोग हो । यसबाट पशुमा उच्च ज्वरो आउने, खाना नखाने र शरीरमा नीलो धब्बा देखिने जस्ता लक्षण देखिन्छन् । यो रोग पशुबाट मानिसमा नसर्ने भएकाले जनस्वास्थ्यमा कुनै खतरा नरहेको चिकित्सकहरू बताउँछन् ।
रोगको कुनै खोप वा उपचार उपलब्ध नभएकाले किसानहरूलाई आफ्नो फार्ममा बाहिरी व्यक्तिको प्रवेश रोक्न, दाना र पानीको सरसफाइमा ध्यान दिन र नयाँ पाठापाठी ल्याउँदा अनिवार्य क्वारेन्टाइनमा राख्न सुझाव दिइएको छ । कुनै पशु बिरामी परेमा वा मरेमा तुरुन्तै स्थानीय पशु सेवा केन्द्रमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।




