काठमाडौं । नेपाल स्वास्थ्य स्वयंसेवक संघको दोस्रो केन्द्रीय अधिवेशन–२०८२ आज चन्द्रागिरि नगरपालिका–४ स्थित भिन्तुना रिसोर्टमा सुरु भएको छ। अधिवेशनको उद्घाटन समारोहमा स्वास्थ्य क्षेत्रका विज्ञ, संघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, स्वयंसेवकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
अधिवेशनमा संघको अघिल्लो कार्यकालमा भएका गतिविधि, उपलब्धि र चुनौतीसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ। यस अधिवेशनमार्फत संघको नयाँ केन्द्रीय नेतृत्व चयन गरिनुका साथै आगामी कार्यदिशा, संगठन सुदृढीकरण र समुदायस्तरमा स्वास्थ्य स्वयंसेवकको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा नीति तथा कार्यक्रम तय गरिनेछ।



संघका पदाधिकारीहरूले ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्य स्वयंसेवकहरूले स्वास्थ्य सचेतना, रोग रोकथाम र आधारभूत स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले आगामी दिनमा संघले सरकार तथा स्थानीय तहसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशन आजै विभिन्न विषयगत सत्रहरूसहित सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।



