काठमाडौं । चन्द्रागिरि नगरपालिकाले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



नगर कार्यपालिकाको बैठकबाट पारित निर्णयअनुसार २०८३ साल वैशाख ४ गते शुक्रबारका दिन चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक बिदा लागू हुने जनाएको हो । मातातीर्थ औंसीका दिन चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित प्रसिद्ध मातातीर्थ कुण्डमा लाग्ने धार्मिक तथा सांस्कृतिक मेलालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगरपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
मातातीर्थ औँसीका दिन आमाको सम्मानमा विशेष पूजा–आजा तथा श्रद्धा प्रकट गर्ने परम्परा रहेको छ । यस अवसरमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहने भएकाले व्यवस्थापन तथा आवागमनलाई सहज बनाउन बिदा घोषणा गरिएको बताइएको छ ।
सूचनाअनुसार प्राथमिक अस्पताल थानकोट बाहेक अन्य सबै सरकारी तथा स्थानीय सेवा प्रदायक कार्यालयहरू सो दिन बन्द रहनेछन् । यद्यपि अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
नगरपालिकाले सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ ।



