काठमाडौं । प्रथम चन्द्रागिरि राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता आयोजना भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ नेपाल शिन क्योकुशिन कराँते संघले चन्द्रागिरि शाखाले आयोजना गरेको हो ।




नैकापको फुटबल चौरमा आयोजना भएको कराँतेमा पुरुष र महिला गरेर दुई सय जनाले प्रतियोगितामा भाग लिएका थिए । खेलमा ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी मुनिका पुरुष खेलाडीलाई भिडन्त गराइएको थियो भने ५५ केजी तौलमाथी खुल्ला गरिएको थियो । साथै महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजीसम्मका महिला खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो भने ५० केजी तौल माथिका महिलालाई खुल्ला गरिएको थियो । प्रतियोगितामा सातै प्रदेशका खेलाडीको सहभागिता रहनुका साथै एपीएप र नेपाल प्रहरीले पनि भाग लिएको थियो ।

नेपाल शिन क्योकुशिन कराँते संघका प्रमुख सूर्य बुढाथोकीले प्रतियोगितामा मेन रेफ्री ४ जना, रेफ्री ३ जना र सहायक रेफ्री १६ जना रहेको जानकारी दिनुभयो । प्रमुख बुढाथोकीले नेशनल गेमलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले यो प्रतियोगितामा पुरस्कार, प्रमाणपत्रलगायत अन्य खर्च गरेर लगभग १४ लाख रुपैयाँ खर्च हुने बताउनु भयो ।




