काठमाडौं । चन्द्रागिरि नगरपालिकाका तामाङ समुदायले वडा नम्बर–३ मा रहेको बुद्ध पार्कमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ, चन्द्रागिरि नगर कमिटीको आयोजनामा विशेष कार्यक्रम गरेको हो ।




बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको आतिथ्यतामा भएको कार्यक्रममा लामा गुरुहरुद्वारा पूजापाठ, तामाङ समूदायहरुले भूमि पूजा, कुल पूजालगायत विशेष सास्कृतिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री महर्जनले अन्य स्थानको भन्दा आफ्नै मौलिक कार्यक्रमलाई प्राथमिकता दिई आफू चन्द्रागिरिको कार्यक्रममा आएको बताउनुभयो । उहाँले बुद्ध पार्क निर्माणका लागि विनियोजित बजेटलाई कार्यान्वयन गर्न अग्रसरता देखाउन आग्रह गर्नुभयो । पार्क निर्माणलाई बजेट अपुग भए तत्काल बजेट सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै, बागमती प्रदेशसभा सदस्य रमा आलेमगरले तामाङ समुदायले शैक्षिक क्षेत्रमा गरेको प्रगतीप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरि–३ स्थित बुद्ध पार्कलगायतका अन्य क्षेत्रलाई थप व्यवस्थित पार्न आफू लागिपर्ने बताउनुभयो । उहाँले अन्य विभिन्न समुदायले पनि सोनाम लोछारलाई आत्मसात गर्दै गएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कमिटीका सचिव सुवास तामाङले राज्यले विभिन्न बहानामा तामाङ समुदायलाई उपेक्षा र प्रतिशोध साँधेको आरोप लगाउनु भयो । पछिल्लो समय रामबहादुर बम्जन पक्राउ पर्नु र सामाजिक सञ्जालमा अन्य तामाङलाई घोचपेच गर्ने प्रवृत्ति बढ्दै गएको प्रति सचेत गराउनु भयो ।

कार्यक्रममा चन्द्रागिरि नगरभित्र रहेका तामाङ समुदायबाट स्नातकोत्तर गर्ने तीन जनालाई विशेष सम्मान गरिएको थियो । कमिटी अध्यक्ष रामहरी लामाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालनमा राजु ठोकर रहनु भएको थियो । यस्तै कलाकार रामकुमारी जिसम, स्थानीय विद्यालयका विद्यार्थी लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।






