काठमाडौं — काठमाडौं र मकवानपुरका चार स्थानीय तहलाई समेट्ने प्रस्तावित मोनोरेल तथा केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनका लागि सरोकारवालासँग परामर्श बैठक आयोजना गरिने भएको छ।

चन्द्रागिरि नगरपालिका–९ को कार्यालय, मच्छेगाउँले सूचना जारी गर्दै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कनलाई प्रभावकारी, पारदर्शी र जनसहभागितामूलक बनाउन स्थानीयवासी, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग सुझाव सङ्कलनका लागि बैठक आह्वान गरेको जनाएको छ।

प्रस्तावित आयोजनाले चन्द्रागिरि नगरपालिका–९, कीर्तिपुर नगरपालिका–४, दक्षिणकाली नगरपालिका–९ तथा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ लाई समेट्नेछ। परामर्श बैठक साउन २३ गते शनिबार अपराह्न १२ बजे चन्द्रागिरि–९ स्थित मच्छेनारायण मन्दिर परिसरमा आयोजना हुने जनाइएको छ।

वडा अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित सूचनामा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका क्रममा स्थानीय समुदाय तथा सरोकारवाला पक्षको राय, सुझाव र चासोलाई समेट्ने उद्देश्यले बैठक आयोजना गरिएको उल्लेख छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायलाई उपस्थित भई रचनात्मक सुझाव दिन आग्रह गरिएको छ।

प्रस्तावित मोनोरेल तथा केवलकार आयोजना कार्यान्वयनमा आए काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम क्षेत्र र मकवानपुरबीचको आवागमन तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, आयोजना अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया पूरा गरी आवश्यक कानुनी स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय