काठमाडौं । नैकाप फुटबल मैदानमा जारी चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वडा ९ र ४ बीच हुने भएको छ ।




बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा वडा ९ ले वडा १५ लाई १–० गोलले हराएको थियो भने दोस्रो सेमीफाइनल खेलमा वडा ४ ले पेनाल्टी सुटआउटमा वडा ८ लाई ५–४ गोलअन्तरले पराजित गरेको थियो । सेमीफाइनलमा जीत पक्का गरेसँगै वडा ९ र ४ ले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । फाइनल खेल शनिबार दिउँसो साढे २ बजे देखि सुरु हुनेछ ।
यसअघि वडा ९ ले वडा ६ लाई २–० गोल र वडा १० लाई ३–१ गोलअन्तरले हराएको थियो । फाइनल यात्रा तय गरेको अर्को टीम वडा ४ ले वडा १४ लाई ३–१ र वडा १३ लाई ४–० गोलले पराजित गरेको थियो । बिहीबार भएको सेमीफाइनल खेलमा वडा ९ ले १५ र वडा ४ ले ८ लाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यी दुबै टीम वार्डकप फुटबलको उपाधि चुम्न चाहन्छ । तीन तीन खेल खेलेको दुबै टीमको गोलको आँकडा हेर्दा वडा ४ वडा ९ भन्दा केही बलियो देखिन्छ । खेल आफ्नो पक्षमा पार्न दुबै टिमले सक्दो प्रयास गर्ने देखिन्छ जसकारण फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ ।

मंसिर ८ गतेबाट सुरुभएको चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगितामा १४ वटा वडाले सहभागिता जनाएको थियो । वडा ११ खेलाडी नहुँदा प्रतियोगितामा सहभागी हुन नसकेको चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता समितिका अध्यक्ष नेशन महर्जनले बताउनु भयो ।

चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा म्यान अफ द म्याच प्राप्त गर्ने खेलाडीलाई चटामरी द नेवारी रेष्टुरेण्टले १५ सय बराबरको खाना वा खाजाको व्यवस्था गरेको छ ।



