काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा वडा स्तरीय खानेपानी तथा सरसफाइ समन्वय शाखा उद्घाटन गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगरले ल्याएको एकीकृत खानेपानीलाई पूर्णरुपमा कार्यान्वयन गरेर अघि बढ्ने बताउनु भयो ।




नगरप्रमुख गिरीले नगरले ल्याएको ऐनलाई संशोधन गरेर नगरभित्र रहेका खानेपानी समितिलाई नगरको मापदण्डमा ल्याई नगरले तोकेको मूल्यमा पानी वितरण गर्नको लागि पहल भइरहेको जानकारी गराउनु भयो । प्रमुख गिरीले नगरमा प्रयाप्त खानेपानी नहुँदा केही वडामा पानीको समस्या भएकोले दीर्घकालिन खानेपानीको व्यवस्थापनका लागि एडिबीसँग सहकार्य भएको पनि उल्लेख गर्नुभयो । उहाँले चन्द्रागिरि नगरभित्र नेपाल सरकारले नै करोडौंको बृहत खानेपानी आयोजनाको सर्वे गरिरहेको र ट्रिटमेन्ट प्लान्ट मार्फत खानेपानी उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर दुईमा सुरुङ मार्गका कारण सुकेका मुहान र सुरुङ मार्गबाट बगेको पानीलाई लिफ्टिङ गरी ल्याउने योजना भइरहेको पनि बताउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले वडा स्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखा उद्घाटन हुनु आफैमा गौरबपूर्ण भएको बताउनु भयो । उहाँले यस्ता शाखाहरु हरेक वडामा हुनुपर्ने र नगरबासीलाई सहजरुपमा खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा १० का वडा अध्यक्ष शिवकुमार महर्जनले चन्द्रागिरि नगरपालिकाले ल्याएको खानेपानी ऐन कार्यान्वयन गर्ने उद्देश्यले वडा स्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखा उद्घाटन गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो वडामा १५ सय घरधुरीलाई खानेपानीको धारा वितरण गरिएको र माग बमोजिम बाँकी १ सय घरधुरीलाई चाँडोभन्दा चाँडो धारा वितरण गर्ने पनि बताउनु भयो । वडा अध्यक्ष महर्जनले वडाबासीले खानेपानीको समस्यालाई समाधान गर्न नियमित खानेपानी आपूर्तिका लागि समिति नै बनाएर अघि बढ्ने पनि प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नगरको वातावरण शाखा प्रमुख भद्रा अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।





