काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न नगर उच्च प्राथमिकताका साथ अघि बढिरहेको बताउनु भएको छ ।

ललितपुरमा आयोजित नेपालमा शहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत बर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्यांकन’ सम्बन्धी कार्यशाला गोष्ठीमा प्रमुख गिरीले यस्तो बताउनु भएको हो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका उपलब्धी र चुनौतीको लेखाजोखा गर्न तथ्यांक विश्लेषणको भूमिका अपरीहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्र मध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाईलाई नगरले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । प्रमुख गिरीले दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्यांकन सम्बन्धी ढाँचा निर्माणका लागि मन्त्रालयसंग सहकार्य र समन्वय भइरहेको पनि बताउनु भयो । उहाँले युएन ह्याबिट्याटले शहरी विकास मन्त्रालयसँगको परामर्श र समन्वयमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा कोभिड १९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना संचालन गरिरहेको समेत जानकारी गराउनु भयो ।

यसैगरी युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा. ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्यमा चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासको प्रशंसा गर्नुभयो । उहाँले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न यसलाई स्थानीयकरण गर्नुपर्ने खाँचो औल्याउँदै चन्द्रागिरि नगरपालिका यो बाटोमा अघि बढिरहेको उल्लेख गर्नुभयो ।

शहरी विकास मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, चन्द्रागिरि नगरपालिका र युएन ह्याबिट्याटको संयुक्त सहकार्यमा भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, विभिन्न वडाका वडाध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय