काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ को आन्तरिक विवाद सतहमा आएको छ । वडा अध्यक्ष शम्भु कुमार केसीले वडामा मनोमानी ढंगले काम गर्न थालेको भन्दै वडा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
केही समयअघि देखि नै अध्यक्ष केसीले वडालाई एकलौटी ढंगले वडा चलाउन खोजेको वडा सदस्यहरुले गुनासो गर्दै आएका थिए । पछिल्लो समय वडाअध्यक्ष केसीले एउटा समितिलाई छुट्टाएको बजेट अर्को समितिलाई भुक्तानी दिएको विषयलाई लिएर सामाजिक सञ्जालमै सदस्यहरुले आफ्नो असन्तुष्टि पोखेपछि वडाको विवाद सतहमा आएको हो ।




चन्द्रागिरि नगरपालिका–७ स्थित नास्पाती घारी टोल सुधार समितिका सचिव बालाजी खातीले सोही वडास्थित वनदेवी मन्दिरमा बडादशैंको अवसरमा नवरात्रभर ब्राम्हणद्वारा चण्डीपाठ र होम गरेको खर्च विवरण बुझाएपछि अध्यक्ष केसीले महाँकाल वनदेवी, गणेशदेवी मन्दिर सञ्चालन र जात्रा शीर्षकअन्तर्गत विनियोजित १ लाख २५ हजार मध्ये ७५ हजार रकम भुक्तानी दिन भनि तोक लगाए पनि वडा अध्यक्षको पुनः अर्को ठाडो तोकमा पुरै रकम भुक्तानी भएपछि वडामा विवाद चुलिएको हो ।

वडा अध्यक्षको यो कदमप्रति महाँकाल वनदेवी, गणेशदेवी मन्दिरका सरोकारवालहरुको भेलाले वडाअध्यक्ष गतिविधिको निन्दा गरेको छ । साथै, भेलाले विनियोजित रकम सरोकारवालासँग सल्लाह नै नगरी एउटा शीर्षकमा छुट्याइएको बजेट अर्को समितिलाई दिनु वडाअध्यक्षको बद्नियत निर्णय भएको समेत ठहर गरेको छ । सोही भेलाले गुठीलाई विनियोजन गरेको रकम पूरै पाउनु पर्ने भन्दै वडामा निवेदन दिने निर्णय पनि गरेको छ । वडा अध्यक्ष केसीको यस्तो गतिविधिप्रति सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएका छन् ।

वडाअध्यक्ष केसीले यसअघि पनि बारम्बार यस्ता विवादास्पद निर्णय गर्दैआएको वडा सदस्यहरु बताउँछन् । यसबारे सत्यतथ्य जानकारी लिन हामीले वडाअध्यक्ष केसीसँग सम्पर्क गर्न खोज्दा भोलि भोलि भन्दै पन्छिदै आएका छन् ।



