काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पूर्ण विद्युतीय माध्यमबाट घर नक्सा पास प्रणालीको शुभारम्भ गरेको छ । नगरपालिकाको कार्यपालिका भवनमा आज आयोजित एक कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले विद्युतीय हस्ताक्षरसहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै सो प्रणालीको शुरूवात गर्नुभएको हो ।




कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालदेखि नै सोचिरहेको विषय आज औपचारिक रुपमै उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । उहाँले अनलाईन प्रणाली विकास भएसँगै अबको केही वर्षमै नगरवासीका हरेक घरमा डिजिटल नम्बर राख्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख बसन्ती श्रेष्ठले नक्सा पास डिजिटलमा भए पनि फिल्डमै गएर अनुगमन गर्न प्राविधिक र प्रत्येक वडाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले नक्सा पास डिजिटल प्रविधिमा आएपछि चुनौती थपिएको तर्फ सरोकारवालाहरुको ध्यानाकर्षणसमेत गराउनुभयो ।

विद्युतीय घर नक्सा पासको उद्देश्य, महत्व, समस्या र चुनौतीकाबारेमा नगरपालिकाका पूर्वाधार शाखा प्रमुख भिष्म भण्डारीले जानकारी गराउनु भएको थियो । उहाँले विद्युतीय घर नक्सा पास प्रणालीले विचौलियाको अन्त्य हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणाली (इबीपीएस) सेवा सुरु भएसँगै अब नगरबासीका सेवाग्राहीहरूले अनलाइनबाटै घर नक्सा पासको निवेदन दिन सक्नेछन् । फाइल बोकेर वडा र पालिका धाउन अवस्थाको अन्त्य भएको नगरपालिकाको दाबी छ । नगरपालिकाले अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणालीमार्फत चाँडै सुरु गर्ने प्रतिवद्धता जनाएको छ ।




