काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पूर्ण विद्युतीय माध्यमबाट घर नक्सा पास प्रणालीको प्रारम्भ गरेको छ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले विद्युतीय हस्ताक्षरसहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै सो प्रणालीको शुरूवात गरेको जानकारी गराएका छन । अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणाली (इबीपीएस) सेवा सुरु भएसँगै अब नगरबासीका सेवाग्राहीहरूले अनलाइनबाटै घर नक्सा पासको निवेदन दिन सक्नेछन् र फाइल बोकेर वडा र पालिका धाउन पर्ने छैन ।
थप जानकारीदिने क्रममा नगरप्रमुख गिरीले अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणालीमार्फत गर्न लागिएकोले चन्द्रागिरि नगरपालिकाको सम्पूर्ण सेवा विद्युतीय प्रणाली अर्थात अनलाइन मार्फत प्रदान गरि नगरलाई पूर्णरूपमा डिजिटल नगरपालिका बनाउने प्रयास भइरहेको जानकारी दिए ।






